काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् ।
आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।

निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुने बताउँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो । सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ । बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ ।’
पछिल्लो दिनमा निजामती सेवाका आदर्श, मूल्य मान्यता, आचरण, जिम्मेवारी र जवाफदेहिताबाट विचलित देखिएकाले यस सेवाप्रति नागरिकको जनविश्वास घट्दै गुनासो सुनिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकलाई सेवा सुविधा उपलब्ध गराउँदा झन्झट र दुस्ख दिने कार्य सरकारलाई सहय नहुने स्पष्ट पारेका छन् ।
सुशासन, पारदर्शिता, जवाफदेहिता र सेवाप्रतिको समर्पण भाव मार्फत राज्यले नागरिकको विश्वास जित्न सक्छ भन्ने कुरा सबैले गहिरो रूपमा आत्मसात गर्न आवश्यक रहेकोमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा रहेको निजामती विधेयक संसदबाट पारित हुने क्रममा रहेको पनि शुभकामना सन्देशमा उल्लेख गरेका छन् । ‘यस निजामती कानूनले कर्मचारी वर्गको उन्नयनमा मात्र होइन, संघीयताको डेलिभरीमा नयाँ उचाइ दिनेछ,’ ओलीले भनेका छन्, ‘मुलुकमा मानव पुँजी व्यवस्थापन र परिचालनबाट प्रशासनिक संघीयताको एक फड्को तर्ने संघारमा हामी लागेका छौं ।’
‘उनले समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा एवं राष्ट्रिय गन्तव्य हासिल गर्ने साझा यात्रामा राष्ट्रसेवक कर्मचारीहरुको प्रतिबद्धता र सिर्जनशीलता अपरिहार्य रहेकामा जोड दिएका छन् ।






