रामेछाप । मन्थली नगरपालिका १० चनखुस्थित देउराली डाँडामा झ्याङ्छ्युप छ्योर्तेन निर्माण गरिएको छ ।

ह्याङ्ला ह्युल सामुदायिक संस्थाको नेतृत्वमा झण्डै २१ फिट अग्लो छ्योर्तेन निर्माण गरिएको संस्थाको अध्यक्ष कुलमान योन्जन तामाङले जानकारी दिए ।
तामङका अनुसार चनखुमा धार्मिक आस्थाअनुसारको पवित्रस्थल नभएका कारण सबैको सहयोगमा छ्योर्तेन निर्माण गरिएको हो ।


उनका अनुसार गत वर्ष चनखु वडा कार्यालय र स्थानीयको संयुक्त सहयोगमा निर्माण गरिएको छ्योर्तेनमा यसपटक भने बुट्टा भरेर रंगरोगन समेत गरेको छ ।


हालसम्म सो छ्योर्तेन निर्माण गर्ने क्रममा १६ लाख खर्च भएको छ भने आगामी माघ ७ गते बौद्ध धर्मगुरु बाट उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको अध्यक्ष कुलमानले बताए ।

१६ लाख खर्च भएकोमा ६ लाख वडा कार्यालयबाट विनियोजन गरिएको थियो भने बाँकी सबै स्थानीयको सहयोगमा निर्माण सम्पन्न भएको संस्थाले जनाएको छ ।

‘बोधि चैत्य अर्थात झ्याङ्छ्युक छ्योर्तेन’ बुद्धको चित्तको स्वरुप मानिने भएकाले छ्योर्तेनलाई बौद्धमार्गीहरुले धर्म सञ्चय गर्ने पवित्रस्थलका रुपमा लिने गर्दछन् । भक्तिभाव र शुद्ध मनका साथ छ्योर्तेन परिक्रमा गर्दा पाप नष्ट हुने र मनले चाहेको कुरा पूरा हुने जनविश्वास रहिआएको छ ।






