काठमाडौँ । स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आठ प्रकारका कडा रोगको उपचार तथा विपन्न नागरिकको एकीकृत सुविधा आउँदो १ कात्तिकदेखि पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कार्तिक देखि यो व्यवस्था लागु गर्न लागेको हो ।
एकीकृत सुविधाको कार्यान्वयनका लागि मन्त्रालयले हालसालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेका थियो ।
संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएको उपचार सुविधाको सम्पूर्ण भुक्तानी स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको थियो ।
यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुने भएकाले हाल उपचार सेवा लिइरहेका वा नयाँ सेवा लिन चाहने सबै विपन्न नागरिकले अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने छ ।
आठ प्रकारका कडा रोगमा मुटु, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाजस्ता रोग रहेको छ । यो सुविधा १ कात्तिकदेखि बीमा प्रणालीमार्फत मात्र उपलब्ध हुनेछ ।






