काठमाडौं । नेपाल पौडी संघले निरन्तर रूपमा आयोजना गर्दै आइहेको एनएसए कप पौडी प्रतियोगिताको १३ औं संस्करण हुने भएको छ ।

संघले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिता आगामी मंसिर २० र २१ गते ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा आयोजना हुने जनाएको हो ।

१३ औं एनएसए कप पौडी प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार प्रतियोगितामा ३१ वटा स्पर्धामा प्रतिस्पर्धा हुने छ भने १०५ पुरुष र ७७ महिला गरी कुल १८२ जना पौडीबाज सहभागी हुनेछन्। प्रतियोगितामा देशभरका विभिन्न विद्यालय, स्वीमिङ क्लवहरू, साथै तीन विभागीय टिमले समेत संस्थागत रूपमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाल पौडी खेलको विकास तथा विस्तारमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको यो प्रतियोगिताले खेलाडीहरूलाई आफ्नो क्षमता निरन्तर प्रदर्शन गर्न प्रेरणा दिने विश्वास आयोजकले गरेको छ ।
यो प्रतियोगिता विधुतिय गाडि कम्पनी विवाइडीको प्रमुख प्रायोजनमा सञ्चालन हुनेछ । कार्यक्रमलाई काष्ठमण्डप टिभी गोल्ड र नेपाल पौडी संघको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने संघले जनाएको छ ।
प्रतियोगिताका संयोजक प्रधानले प्रतियोगितासम्बन्धी सम्पूर्ण तयारी पुरा भएको र प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनेमा संस्था पूर्ण रूपमा विश्वस्त रहेकोे बताए ।






