काभ्रे । जिल्लाको बनेपामा रहेको स्वर्गद्वारी बचत तथा ऋण सहकारी संस्था पछिल्ला वर्षमा ठगी, मिटरब्याज र अवैध लगानीका कारण गम्भीर संकटमा परेको छ।

माओवादी केन्द्रका काभ्रेका संयोजक भोला प्रसाद अर्याल र बागमती प्रदेश सभा सदस्य रुकु चौलागाईंको निर्देशनमा सञ्चालन हुँदै आएको उक्त स्वर्गद्वारी सकोसको अध्यक्ष यज्ञ प्रसाद पन्तलाई सहकारीका सदस्यको रकम हिनामिनाको आरोपमा प्रहरीले पक्राउ गरेका छन् । सहकारीका बचतकर्ताले प्रहरी कार्यालयमा लाखौं रुपैयाँ ठगी गरेको उजुरी दर्ता गरेपछि पन्त पक्राउ परेका हुन्।


अध्यक्ष पन्तले करिब ९–१० महिना अघि पाँचखाल शाखाका सदस्यलाई “६ महिनाभित्र पैसा फिर्ता गर्छु” भन्दै खाली चेक दिएका थिए। तर पैसा फिर्ता गर्न नसकेपछि क्रोधित सदस्यहरूले पन्तलाई कार्यालयमै थुनेका थिए ।
केही समयअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा पन्तविरुद्ध ठगी मुद्दा दर्ता गरेसँगै पक्राउ परेको उनी ६ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। फेरी केहि दिन अघि भक्तपुर शाखामा पनि रकम हिनामिनाको आरोप लागेपछि उनलाई भक्तपुर प्रहरीले पुनः पक्राउ गरेको हो । अध्यक्ष पन्त माओवादी केन्द्र काभ्रेका कार्यालय सचिव समेत हुन ।
सञ्चालक समितिका सदस्यहरूले निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको आरोप छ । निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रूपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरूले जम्मा गरेको रकम पटक(पटक ताकेता गर्दा पनि फिर्ता नदिएको एक बचत कर्ताको भनाई छ ।
पाँचखाल सेवा केन्द्रमा सदस्य बनेका एक सदस्यले आफ्नो निक्षेप जोखिममा रहेको ठानेर सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरूलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरेको बताए । बचतकर्ताको अनुसार सहकारी सन्चालकले सदस्यहरूको रकम घरजग्गा किनबेच र मिटरब्याजमा लगानी गर्दै आएको छ।
सन्चालक समितिको एक सदस्यले नाम नखुलाउने शर्तमा सहकारी करिब दुई वर्षदेखि माओवादी केन्द्रका काभ्रेका संयोजक अर्याल र बागमती प्रदेश सभा सदस्य चौलागाईंको निर्देशनमा सञ्चालन हुँदै आएको थियो। उनीहरूको समूहले सहकारीमा करिब ४ करोड रुपैयाँ लगानी गरेका थिए । उनीहरुलाई राजनीतिक पहुँचको दुरुपयोग गर्दै भूमाफियासँग मिलेर अवैध लगानी गरी ठूलो सम्पत्ति जोडेको आरोप समेत लागेको छ।
यसैबीच सहकारीका कोषाध्यक्ष तथा माओवादी केन्द्र काभ्रेका संयोजक भोला प्रसाद अर्यालकी पत्नी उषा शिवभक्ति अर्याल पनि प्रहरीको अभियोजन दायरामा परेकी छन्। यसबारे बुझ्न खोज्दा अध्यक्ष पन्त र अर्याल दुवै जनासँग सम्पर्क हुन सकेन । घटनापछि भोला पार्टी गतिविधिमा सक्रिय देखिन छोडेका छन्। सहकारीको मूल उद्देश्य विपरीत जोखिमपूर्ण गतिविधि बढेपछि संस्था नै डुब्ने अवस्थामा पुगेको हो। परिणामस्वरूप सदस्यले आफ्नो जम्मा रकम फिर्ता पाउनै नसक्ने अवस्था बनेको छ।
बचतकर्ताहरुले संस्थाको सन्चालकहरुले ठगी, मिटरब्याज र अवैध लगानीका कारण संस्था गम्भीर समस्या परेको र आफुहरुको रकम फिर्ता नगरेको आरोप लगाएका छन । प्रहरीले सहकारीका पदाधिकारीहरू विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानसमेत अघि बढाइरहेको जनाएको छ ।
काभ्रे जिल्लामा करिब १,५०० सहकारी दर्ता छन्, तर त्यसमध्ये धेरै सक्रिय रूपमा सञ्चालनमा छैनन्। हाल काभ्रेमा ६५० हारहरीमा सहकारी सक्रिय रूपमा काम गरिरहेका छन् भने बाँकी ८ सय बढी सहकारीको अवस्था लगभग अज्ञात छ।
त्यस्तै स्वर्गद्धारी सहित धेरै सहकारी संस्थामा बचतकर्ताले रकम फिर्ता नपाएको उजुरी दिएका छन्। सहकारी संघको रिपोर्ट अनुसार काभ्रेका धेरै सहकारीमा अनियमित क्रियाकलाप र आर्थिक समस्या देखिएका छन ।






