मेरुदण्ड भएका सबै जनावरहरूमा हाई गर्ने वा हाईसँग मिल्दोजुल्दो व्यवहार गर्ने चलन छ। सामाजिक रुपमा बबुनहरूदेखि लिएर एकान्तमा बस्ने ओराङगुटानसम्म, सुगादेखि पेन्गुइन र गोहीसम्मले पनि हाई गर्छन् ।
हालसम्म, हाई गर्नुको उद्देश्य स्पष्ट थिएन र यस विषयमा वैज्ञानिकहरूबिच अझै पनि विवाद छ।

अक्सिजनको कमीको परिकल्पना गलत
धेरै मानिसहरूलाई किन हाई आउँछ भनेर सोध्दा, उनीहरूको जवाफ हुन्छ— यसले सास फेर्न वा रगतमा अक्सिजन बढाउन मद्दत गर्छ। जोन्स हप्किन्स विश्वविद्यालयका व्यवहारिक जीवविज्ञानका प्राध्यापक एन्ड्रयू ग्यालप भन्छन्, ‘यो अनुमान सहज लाग्छ किनभने हाई गर्दा गहिरो सास लिने प्रक्रिया स्पष्ट देखिन्छ।’
तर, उनी थप्छन्, ‘धेरै मानिसहरूलाई थाहा छैन कि यो परिकल्पनाको स्पष्ट परीक्षण गरिएको छ र यो गलत साबित भएको छ।’
सन् १९८० को दशकमा गरिएका अध्ययनहरूले हाई अक्सिजन बढाउन वा अतिरिक्त कार्बनडाइअक्साइड बाहिर निकाल्नको लागि आउँछ भन्ने धारणालाई परीक्षण गर्न स्वयंसेवकहरूले सास फेर्ने हावामा ती ग्यासहरूको स्तरलाई परिवर्तन गरे। अध्ययनले के देखायो भने ग्यासको मात्रा परिवर्तनले अन्य श्वासप्रश्वास प्रक्रियाहरूलाई असर गरे पनि हाई आउने क्रममा कुनै परिवर्तन ल्याएन। फोक्सो र श्वासप्रश्वासको समस्या भएका मानिसहरूको हाई गर्ने व्यवहारमा पनि कुनै खास परिवर्तन देखिएन, जुन यो सिद्धान्त सही भएको भए हुनुपर्थ्यो।

हाई गर्नुको मुख्य उद्देश्य: मस्तिष्कलाई चिसो बनाउनु
डा. ग्यालपले हाईको अध्ययन गर्दा यसमा संलग्न शारीरिक क्रियाकलापहरूमा ध्यान दिए— बङ्गारालाई फराकिलो पार्दै गहिरो सास लिने, त्यसपछि छिटो मुख बन्द गरेर सास बाहिर फाल्ने। उनलाई लाग्यो कि यसले मस्तिष्क भित्रको रक्तसञ्चारमा महत्त्वपूर्ण परिणाम ल्याउँछ। र, वास्तवमा यही भइरहेको देखिन्छ: चिकित्साको समीक्षाले हाईले टाउकोमा रहेको धमनीमा रक्तप्रवाह बढाउने र टाउकोबाट मुटुमा रगत फर्किने दरलाई पनि बढाउने सुझाव दिन्छ।
ग्यालप भन्छन्, ‘बङ्गारा फराकिलो पार्नुलाई शरीरका अन्य भागका मांसपेशीहरू तन्काएजस्तै एक प्रकारको स्थानीय तन्काइको रूपमा लिन सकिन्छ। जसरी तन्काउँदा ती अङ्गहरूमा रक्तसञ्चारमा मद्दत पुग्छ, हाईले पनि मस्तिष्कको लागि त्यस्तै गर्छ।
यसबाट, ग्यालप र उनका सहकर्मीहरूले हाईले मस्तिष्कको तापक्रम नियन्त्रण गर्न मद्दत गर्छ भन्ने सिद्धान्त विकास गरे। तपाईंको मस्तिष्कको तापक्रम, मुख्य रूपमा मस्तिष्कमा रगत पुग्ने दर, त्यो रगतको तापक्रम र स्नायु गतिविधिको आधारमा मस्तिष्कभित्र हुने ताप उत्पादनद्वारा निर्धारित हुन्छ। हाईले पहिलो दुई कारकलाई परिवर्तन गर्न सक्छ। हाई गर्दा, तपाईं गहिरो सास लिनुहुन्छ र त्यो हावा मुख, जिब्रो र नाकका ओसिलो सतहहरू हुँदै जान्छ— यो प्रक्रिया कारको रेडिएटरमा हावा बगेजस्तै हो— जसले बाफ र संवहनमार्फत ताप बाहिर निकाल्छ।
परिवेशको तापक्रमले हाईको आवृत्तिमा अनुमानित असर पार्छ भन्ने अध्ययनहरूले यसलाई पुष्टि गरेको देखिन्छ। जब वातावरण थोरै तातो हुन्छ, हाई आउने क्रम बढ्छ (जब धेरै तातो हुन्छ, यो प्रभावले काम गर्न सक्दैन, त्यसैले पसिना जस्ता अन्य विधिहरूले काम गर्छन् र हाई कम हुन्छ)। यसले किन निश्चित रोगहरू र तिनीहरूको उपचारमा प्रयोग हुने औषधिहरूले मस्तिष्क वा शरीरको तापक्रम बढाउँदा धेरै हाई आउँछ भन्ने कुराको पनि व्याख्या गर्छ। धेरै स्नायु भएका स्तनधारी र चराहरूले आफ्नो मस्तिष्कको आकारभन्दा पनि बढी लामो समयसम्म हाई गर्छन्, जसले स्नायु गतिविधिसँग सम्बन्धित तापक्रम नियन्त्रणको आवश्यकतालाई समर्थन गर्छ।

हाईका अन्य सम्भावित कारणहरू
तापक्रम नियन्त्रण बाहेक, अर्को सबैभन्दा बलियो प्रमाण रहेको सिद्धान्त ‘सक्रियता स्तर परिवर्तन’ को हो। यसअनुसार, हाईले मस्तिष्कलाई एक अवस्थाबाट अर्को अवस्थामा सर्न मद्दत गर्छ— जस्तै निद्राबाट जागृति, अल्छीबाट सतर्कतामा। चिकित्सा इतिहासकार डा. ओलिभियर वालुसिन्स्कीका अनुसार, यसले मस्तिष्कलाई सपना देख्ने वा आत्म-प्रतिबिम्ब गर्ने ‘डिफल्ट मोड नेटवर्क’ बाट कामको लागि शरीरलाई तयार गर्ने ‘अटेन्सनल नेटवर्क’ मा स्विच गर्न मद्दत गर्न सक्छ। यसको एउटा संयन्त्र मस्तिष्क र मेरुदण्डलाई घेरेको तरल पदार्थ सेरेब्रोस्पाइनल फ्लुइडको परिसंचरणमा सहयोग गर्नु पनि हुन सक्छ।
सक्रियता स्तर परिवर्तन गर्ने कार्य पहिले विकसित भयो र तापक्रम नियन्त्रण गर्ने असर पछि एउटा उपयोगी उप-उत्पादनको रूपमा आएको पनि हुनसक्छ। वा, यी दुई व्याख्याहरू एक-अर्कासँग सम्बन्धित हुन सक्छन्: अवस्था परिवर्तनले मस्तिष्कको गतिविधि र तापक्रममा परिवर्तन ल्याउँछ, जसको अर्थ सुधारिएको रक्तप्रवाह र स्नायु शीतलताको आवश्यकता हुन्छ। यही कारणले गर्दा तपाईंलाई अल्छी लाग्दा हाई आउँछ— तपाईंको मस्तिष्कको गतिविधि स्तर बढ्न सक्छ किनकि यसले तपाईंलाई थप उत्प्रेरक अवस्थामा लैजाने तरिकाहरू सोच्न थाल्छ, र यसका साथै यसको रक्तसञ्चारको आवश्यकता पनि बढ्छ।
सङ्क्रामक हाई
तर हाई किन सङ्क्रामक हुन्छ ? भन्ने पनि प्रश्न आउँछ । हामी सबैलाई थाहा छ कि कोठामा वा टिभीमा एक जनाले हाई गर्दा अरू सबैले पनि हाई गर्न थाल्छन्। केही शोधकर्ताहरूले सुझाव दिएका छन् कि यस्तो संक्रामक व्यवहारले समूहलाई एकसाथ ल्याउँछ। तर, यो हाई गर्नुको मुख्य उद्देश्य हुनु असम्भव छ किनभने धेरै एकान्तमा बस्ने जनावरहरू पनि नियमित रूपमा हाई गर्छन्।
डा. ग्यालप भन्छन्, ‘सङ्क्रामक हाईको कुनै काम नहुन सक्छ र यो अत्यधिक सामाजिक प्रजातिहरूमा उन्नत सामाजिक संज्ञानात्मक संयन्त्रको केवल एक उप-उत्पादन हुन सक्छ।’
यसलाई अझ सरल भाषामा भन्नुपर्दा, मानिसलगायत धेरै जनावरहरूमा सहानुभूति बढाउने विभिन्न तरिकाहरू हुन्छन्, जसमा ‘मिरर न्यूरोन’ समावेश छन्। यी न्यूरोनहरू तब सक्रिय हुन्छन् जब कुनै व्यक्तिले आफैँले कुनै कार्य गर्छ वा अरू कसैलाई त्यस्तै कार्य गरेको देख्छ। यसकारण, अरू कसैले हाई गरेको देख्दा तपाईंको मिरर न्यूरोनहरू सक्रिय हुन सक्छन्, जसले तपाईंलाई पनि हाई गर्न प्रेरित गर्छ।
तर, सङ्क्रामक हाईले समूह समन्वयमा पनि भूमिका खेल्न सक्छ, सबै जनावरहरूलाई एकैसाथ आरामबाट सक्रिय अवस्थामा सर्न मद्दत गरेर। एउटा अध्ययनले सिंहहरूमा यो प्रभाव परीक्षण गर्दा, एउटा हाई गर्ने सिंहले उठेर हिँड्न थालेपछि अन्य हाई गर्ने सिंहहरूले पनि त्यसै गरेको पाइएको थियो।
यसले समूह सतर्कतालाई पनि बढाउन सक्छ । यदि कुनै समूहमा एक बबुनले हाई गरेर अरूलाई प्रेरित गर्छ भने, तिनीहरू सबै थप सतर्क हुन सक्छन्। यसको उल्टो, यसले निद्राभन्दा पहिले सक्रियतालाई कम गर्न पनि मद्दत गर्न सक्छ।
संक्षेपमा भन्नुपर्दा, हाई गर्नु तपाईंको लागि राम्रो हो र यसले तपाईंको मस्तिष्कलाई अझ राम्रोसँग काम गर्न मद्दत गर्छ।
द गार्जियनबाट






