काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा जारी जेनजी र दलहरूसँगको छलफलमा एकपटकमात्रै छलफलले नहुने भन्दै निरन्तर संवादमा जोडिन आग्रह गरेकी छिन् ।
बुधबार सरकार, राजनीतिक दल र जेन-जी प्रतिनिधिहरूबीच भएको त्रिपक्षीय वार्तामा उनले मुलुक बनाउने जिम्मेवारी सबैको भएको भन्दै निरन्तर संवादको आवश्यकता रहेकोमा जोड दिइन्।

वार्ताको सुरुवातमा प्रधानमन्त्री कार्कीले सबै पक्षलाई खुला रूपमा आफ्ना विचार राख्न आह्वान गरेकी थिइन्। ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो। हामीले नबनाए कसैले बनाइदिँदैन,’ उनले भनिन्, ‘एकपटकको कुराकानीले मात्र हुँदैन, यो निरन्तर हुनुपर्छ। हामीले संवादको सुरुवात गरेका छौँ।’
‘जेन-जीहरूको मुख्य जोड चुनाव चाहिएको छ, गर्नुपर्छ, तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ प्रधानमन्त्रीले भनिन्, ‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो, भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ।’
आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको वातावरण बनाउन सरकारले पहिलोपटक जेन(जी प्रतिनिधि र राजनीतिक दलहरूलाई एकै ठाउँमा राखेर त्रिपक्षीय वार्ता आयोजना गरेको हो।






