काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पछिल्ला दिनमा सिंहदरबारमा आगजनी गराएको भन्ने आफूविरुद्ध लगाइएका आरोप पूर्ण रूपमा भ्रमपूर्ण र तथ्यहीन रहेको भन्दै खण्डन गरेका छन्।

सामाजिक सञ्जालमार्फत लामो स्पष्टीकरणमा बालेनले भनेका छन्, ‘सिंहदरबार जलाउने म होइन, अफवाह फैलाउने काम मात्रै गरियो।’
उनका अनुसार भदौ २४ गते देशभर अराजक स्थिति थियो, सरकार सक्रिय थिएन, प्रहरी र सुरक्षा संयन्त्र समेत निष्क्रिय थिए। तर, काठमाडौं महानगरको दमकल र कर्मचारीहरू भने जोखिम मोल्दै आगो निभाउने, घाइतेहरूको उपचार र उद्धारमा निरन्तर खटिएको उनले बताएका छन्।
‘सिंहदरबारमा हाम्रो दमकल तत्काल पुग्न सकेन किनभने आन्दोलनकारीले बाटो अवरुद्ध गरेका थिए,’ बालेनले स्पष्ट पारे। उनका अनुसार २४ गते साँझ ८:१५ बजे महानगरको दमकल सिंहदरबार पुगेर आगो निभाउने कार्यमा सहभागी भएको थियो।
महानगरका पाँच दमकल, १४ नगर प्रहरी र ३० सशस्त्र प्रहरीसहितको ४४ सदस्यीय टोलीले २३ देखि २८ गतेसम्म राजधानीका विभिन्न स्थानमा ५५ भन्दा बढी पटक आगो निभाउएको उनले जानकारी दिएका छन्।
बालेनले लेखेका छन्, ‘हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त झन् होइन।’ उनका अनुसार ती दिनहरूमा महानगरले स्वास्थ्यकर्मी र रगत व्यवस्थापनदेखि घाइते र मृतकका परिवारलाई सहयोग पुर्याउनेसम्मका सबै जिम्मेवारीहरू पूरा गरेको थियो।
अन्त्यमा बालेनले भनेका छन्, ‘अफवाह फैलाउनेहरूले जनतालाई भ्रममा पार्छन् र दिनरात खटिने टोलीको मनोबल घटाउँछन्। कृपया सत्य बुझौं, झूट र हल्लाबाट टाढा रहौं।’






