काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता नामावली ऐन सम्बन्धी अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको छ।
यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा २ बमोजिम चुनावको मिति घोषणा भइसकेपछि सोही निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने व्यवस्था उल्लेख थियो । यसअघि आयोगले २०७९ को निर्वाचनअघि मतदाता नामावली संकलन गरेको थियो ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१)बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका हुन् । निर्वाचन अयोगले गत आइतबार मतदाता नामावली संकलनका लागि बाटो खुलाइदिन माग गर्दै गृह मन्त्रलायलाई पत्राचार गरेको थियो ।







