हेटौँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी निर्वाचनमार्फत देशलाई स्थायित्व र विकासको बाटोमा लैजानुपर्ने बताएका छन् । उनले सङ्घीय अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, प्रशासन र सुरक्षा संयन्त्र एकजुट हुनुपर्ने बताए ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा शुक्रबार हेटौँडामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले शान्ति, सुव्यवस्था, स्थायित्व र समृद्धिको यात्रामा अगाडि बढाउन सबैको भूमिका अपरिहार्य रहेको बताए ।

सम्बोधनका क्रममा उनले सुशासनको माग राख्दै भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनमा घाइतेहरूको उपचारको प्रबन्ध प्रदेश सरकारले मिलाउने र प्रदर्शनका क्रममा क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको पुननिर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरे ।






