काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना सुनियोजित हुन सक्ने बताएकी छन् ।
आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।

‘मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला बेग्लै कुरा हो । तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटी भएको हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यस किसिमले हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ ।’
उनले यसबारे अनुसन्धान हुने र कारबाही हुने बताइन् ।
उनले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, व्यापारिक कम्प्लेक्स लगायतका सरकारी कार्यालयहरुमा भएको आगजनी लज्जास्पद भएको बताइन् ।
प्रधानमन्त्री कार्कीले अपराधीहरूले गरेको मुलुकमाथिको चुनौतीलाई सबैले मिलेर एकताको भावना राखेर पुरा गर्नुपर्नेमा जोड दिइन् ।






