काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाइ दिएका छन् ।
मणिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीले कार्की प्रधानमन्त्री हुनु महिला सशक्तीकरणको उदाहरण भएको बताए ।

‘मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको महत्वपूर्ण उदाहरण हो,’ मोदीले भनेका छन्, ‘आज नेपालका यस्ता हरेक व्यक्तिको सह्राना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।’
यस्तो छ, मोदीको भनाइ:
हिमालयको काखमा रहेको नेपाल भारतको एक मित्र हुन् । हामी साझा इतिहासबाट जोडिएका छौं, आस्थाले जोडिएका छौं । साथसाथै अगाडि बढारहेका छौं । अन्तरिम सरकारका प्रधानमन्त्रीका रुपमा पदभार सम्हालेकी श्रीमती सुशीलाजीलाई एक सय ४० करोड भारतबासीका तर्फबाट हार्दिक बधाइ दिन्छु ।
मलाई विश्वास छ नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुनेछ । नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा सुशीलाजी आउनु महिला सशक्तिकरणको महत्वपूर्ण उदाहरण हो । आज नेपालका यस्ता हरेक व्यक्तिको सह्राना गर्छु, जसले यो अस्थिरताको माहोलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरी राखेका छन् ।
नेपालमा भएको यो घटनाक्रममा अर्को एक कुरा पनि विशेष रह्यो । त्यसतर्फ मान्छेको ध्यान गएको छैन । पछिल्लो दुई तीन दिनदेखि नेपालका युवक युवती सडकको सफाइ र रंगरोगनको काम पवित्र भावना र मिहेनतका साथ गरिरहेका छन् । सामाजिक सञ्जालमा आइरहेको उनीहरुको तस्वीर मैले पनि देखेको छु । यो सकारात्मक सोच, सकारात्मक कार्य प्रेरणादायक मात्र छैन, नेपाल नवउदयको स्पष्ट संकेत पनि हो । म नेपालको उज्वल भविष्यका लागि शुभकामना दिन्छु ।






