काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आज काठमाडौँलगायत देशभरि भएको ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा भएको जनधनको क्षतिको घटनाबारे दुःख व्यक्त गरेको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज साँझ जारी विज्ञप्तिमा हृदयविदारक र दुःखद् घटनाले मर्माहत बनाएको उल्लेख छ । आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको गोली लागेर काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन् ।

आज मुलुकमा जेनजी, नेपालको आयोजनाका नाममा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि दजनौँ व्यक्तिको मृत्यु भएको छ । ठुलो मात्रामा सरकारी सम्पत्ति नष्ट भएको छ । यो एउटा हृदयविदारक र दुःखद् घटना होु, विज्ञप्तिमा भनिएको छ ।
एमालेले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै तिनका परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।





