काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ ।

प्रतिनिधिहरुलाई बिहान नौ बजेदेखि नै आउन भनिएको छ । उदघाटन समारोह भने ११ बजेदेखि सुरु हुने छ ।
उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि प्रस्तुत हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेता थापाले विहीबार नै पार्टी कार्यालयमा फरक मत दर्ता गराएका थिए ।
महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।
प्रतिवेदनहरुमाथि भदौ २१ गते समूहगत छलफल हुने छ । ती छलफलका निष्कर्षलाई भदौ २२ गतेदेखि प्रस्तुत गरिने छ । प्रतितिनिधहरुको सुझाव र जिज्ञासामा नेताहरुले जवाफ दिने क्रम सकिएपछि केन्द्रीय निर्वाचन आयोगको निर्वाचन गर्ने र विधानसहितका प्रतिवेदन पास गर्दै महाधिवेशन समापन हुने एमालेले जनाएको छ ।






