हेटौंडा । बागमती प्रदेश सरकारले भक्तपुर जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई २ लाख रूपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले बताए ।
साहसिक तथा संस्कृति संरक्षण प्रवर्द्धन कार्यक्रम अन्तर्गत भक्तपुरको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई प्रोत्साहन स्वरूप जनही दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

यस्तै, बैठकले प्रदेशको प्रशासनिक संरचना निर्माणस्थलमा रुख कटानका लागि करिब ४ करोड रुपैयाँको स्रोत सुनिश्चितताको लागि प्रतिबद्धता जनाउने निर्णय समेत भएको छ । यसका लागि वन विकास कोषको रकम जम्मा गर्न स्वीकृत प्रदान गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले यसअघि ५० लाख रुपैयाँसम्मका योजना उपभोक्ता समितिबाट हुँदै आएकोमा अब भने १० लाख वा १० लाख भन्दा बढी बजेटका योजना सबै टेन्डर प्रक्रियाबाट कार्यान्वयन गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।






