बेइजिङ । रुससँग कच्चा तेल किनेको मामिलामा हालैका दिनमा अमेरिकाले भारतलाई निशाना बनाइरहेको छ । यसैबिच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र चीनप्रति अमेरिकाको दृष्टिकोणमाथि टिप्पणी गरेका छन् ।
अमेरिकाले भारत र चीनलाई यसरी व्यवहार गर्न नपाउने उनले भनेका छन् । बुधबार चीनमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनले यस्तो बताएका हुन् । ‘तपाईंसँग भारत जस्तो देश छ, जसको जनसङ्ख्या लगभग १ दशमलव ५ अर्ब छ । चीन बलियो अर्थतन्त्र भएको देश हो । तर यी देशहरूको आफ्नै घरेलु राजनीतिक संयन्त्र छ’ भारत र चीनमाथि अमेरिकी दबाबको बारेमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने । ती ठुला देशहरूको नेतृत्व कस्तो छ भनेर सोच्नुपर्ने पनि उनले बताए ।

‘यी देशहरूको पनि इतिहास छ जसमा उनीहरूले कठिन समय देखेका छन् । उनीहरूले लामो समयसम्म उपनिवेशवादको सामना गर्नुपरेको थियो । यदि तिनीहरूमध्ये कसैले कमजोरी देखाए भने उनीहरूको राजनीतिक करियर समाप्त हुनेछ भन्ने कुरा बुझ्नुपर्छ’ अझ अगाडि उनले भने ।
अहिले औपनिवेशिक युग अब समाप्त भइसकेको भन्दै उनले अमेरिकाले यी देशहरूसँग यसरी कुरा गर्न नपाउने कुरामा जोड दिए ।
‘अन्तमा सबै कुरा ठिक हुनेछ । सबै कुरा ठिक ठाउँमा हुनेछ र फेरि कुनै राजनीतिक बयानबाजी हुनेछैन’ अझ अगाडि पुटिनले भने । हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आउने सामानमाथि अमेरिकी भन्सारमा ५० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाएका थिए ।
भारतमाथि दबाब दिएर रुसलाई युक्रेनमा युद्धविरामका लागि सहमत गराउन सकिने अमेरिकी तर्क थियो । भारतले रुसबाट ठूलो मात्रामा तेल किनेर युक्रेन युद्धको लागि आर्थिक रूपमा मद्दत गरिरहेको आरोप ट्रम्पको छ । एजेन्सी






