काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा राजदूत श्रीवास्तवले हालै मन्त्री बनेका घिसिङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। सो अवसरमा नेपाल–भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, भारतीय सहायतामा निर्माणाधीन आयोजनाको प्रगति र आगामी कार्ययोजनासम्बन्धी विषयमा विस्तृत छलफल भएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ।

छलफलमा ऊर्जा तथा जलस्रोत क्षेत्रका द्विपक्षीय संयन्त्रको बैठक आयोजना गर्ने, महाकाली सिँचाइ आयोजना (तेस्रो चरण) बाट नेपालतर्फ पानी पठाउने, भारतीय सहयोगमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना को प्रगति, इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन को निर्माण र नेपालबाट भारततर्फ थप विद्युत् निर्यातको स्वीकृतिलगायत मुद्दा उठाइएका थिए।
मन्त्री घिसिङका अनुसार दशैँ–तिहारका बिदामा आन्तरिक खपत घट्ने भएकाले सो समयमा थप विद्युत् निर्यात गर्न भारतलाई स्वीकृति दिन आग्रह गरिएको छ। हाल नेपालले बंगलादेशसहित भारततर्फ १,१६५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ। साथै, थप चार आयोजनाबाट उत्पादित १३८ मेगावाट विद्युत् निर्यात का लागि प्रस्ताव भारतमा पेश गरिएको छ।
बैठकमा भारततर्फ इनरुवा–पूर्णिया र न्यू लम्की–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइनको अध्ययन पूरा भएको जानकारी दिए। साथै, हालैको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणमा आवश्यक परेमा सहयोग गर्न भारत तयार रहेको राजदूत श्रीवास्तवले बताए ।
भेटमा ऊर्जा मन्त्रालयका सचिव सरिता दवाडी, सहसचिवहरू चिरञ्जीवी चटौत र सन्दीपकुमार देव, साथै परराष्ट्र मन्त्रालय दक्षिण एसिया महाशाखाका शाखा अधिकृत प्रतीक कार्कीको समेत उपस्थिति थियो।






