काठमाडौं । सत्ततारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले हरेक कांग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउने र त्यो पूरा गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।

‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ, थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरूको आकांक्षाहरू पनि बढेको छ, जुन स्वाभाविक हो’ उनले भने, ‘हाम्रा मानिसहरू बाहिर काम गर्न गएका छन् ।’ उनले थपे, ‘म अस्ति कोरिया गएर आएँ, कोरियामा एउटा केटोले महिनाको दुई लाख बचत गर्छ । कमाई अढाइ लाख छ ।’
महामन्त्री थापाले लाखौँ मान्छेलाई राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ’ उनले भने, ‘आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरूलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ति जे पनि गर्छु, मेरो लागि मुख्य कुरा यो हो अहिले ।’






