काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा शांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान झेङसँग गत मंगलबार बेइजिङमा भेटवार्ता गरेका थिए ।

सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो । यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन् ।
अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्रहरू हुन् । नेपालसहित टर्की, श्रीलंका, अजरवैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् ।
शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गरेका थिए ।
करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका थिए ।
प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।






