रामेछाप । नेपाल मगर संघ मन्थली नगर समितिको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट गुणा बहादुर थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता मगर, सचिवमा गजेन्द्र आले मगर, कोषाध्यक्षमा तेज बहादुर थापा मगर तथा सहसचिवमा नवराज मगर चयन भएका छन्। सदस्यहरूमा सरिता थापा मगर, ठेक बहादुर पुलामी मगर, झनमाया पुलामी मगर र उज्वल थापा मगर चयन भएका छन्।
अधिवेशनमा विभिन्न वक्ताहरूले मगर समुदायको विकास, पहिचान र संगठन सुदृढीकरणका विषयमा आफ्ना धारणा राखेका थिए। नेपाल मगर संघ मन्थली काठमाडौं सम्पर्क समितिका अध्यक्ष गेहेन्द्र रानामगरले मन्थली नगरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै त्यसतर्फ ध्यान दिनुपर्ने बताए।
त्यसैगरी, रामेछाप नगर अध्यक्ष जित सिन्जाली मगरले अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। नेपाल मगर बौद्ध सेवा समाजका अध्यक्ष हेम पुलामी मगरले आफू जिल्लाको संस्थापक सचिवसमेत रहेको जानकारी गराउँदै समन्वय र सहकार्यमा जोड दिए।
पूर्व जिल्ला अध्यक्ष खड्क बहादुर आले मगरले राजनीतिक प्रभावका कारण मगर संघ अपेक्षाअनुसार अघि बढ्न नसकेको धारणा व्यक्त गरे भने बागमती प्रदेश सदस्य सन्तोष थापा मगरले मगर समुदायको संस्कार र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रमका प्रमुख अतिथि लाल बहादुर थापा मगरले आफू आउनुअघि ‘घ’ वर्गमा रहेको मगर संघलाई कार्यसमितिको सक्रियताले ‘क’ वर्गमा पुर्याउन सफल भएको उल्लेख गर्दै आफ्नो कार्यसमितिलाई धन्यवाद दिए।
सभा अध्यक्ष अनन्त पुलामी मगरले मन्थली नगरमा संस्थापक समयदेखि नै आफूले योगदान दिँदै आएको उल्लेख गर्दै मगर संघको विकासमा धेरै संघर्ष गर्नुपरेको स्मरण गरे। उनले कार्यक्रममा सहभागी सम्पूर्णलाई धन्यवाद ज्ञापन पनि गरेका थिए।
कार्यक्रमको सञ्चालन राम बिपि मगरले गरेका थिए।








