रामेछाप । मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा ` सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान साथमा छ्योर्तेन ह्राप्ने कार्यक्रम ´ हुने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम यसपटक माघ ७ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गडुल वर्गलाई विदाई गर्दै घोडा वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बताएको छ । यसपटक विशेष कार्यक्रम भने छ्योर्तेन ह्राप्ने(प्राण प्रतिष्ठा ) गर्ने रहेको छ ।
ह्याङ्ला ह्युल सामुदायिक संस्थाको नेतृत्वमा निर्माण भएको झ्याङ्छ्युप छ्योर्तेनको उद्घाटनमा बौद्ध धर्मगुरुहरुबाट विशेष पुजा हुने र लामा छ्याम देखाइने आयोजकले जनाएको छ ।
चनखुमा २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ । कार्यक्रममा उपस्थिति हुनेहरुलाई तामाङ भेषभुषामा उपस्थिति रहन समेत आयोजक संस्थाले आग्रह गरेको छ ।






