काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आर्थिक व्यवस्थापन गर्न नसक्दा यो पटक मान्छेको उपस्थिति हुनेमा आफूहरूलाई शंका लागेको बताएका छन् । सुदूरपश्चिको धनगढीमा शुक्रबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यसअघि भएको सभामा ठूलै रकम खर्च गर्नुपर्ने भए पनि यो पटक केन्द्रबाट पैसा पठाउन नसकेको बताए।
‘आज हामीलाई कता कता मनमा त्यति राम्रो उपस्थिति हुँदैन कि, किनकी विगतमा हामीले यत्तिको सभा गर्नका अलि ठूलै रकम खर्च गर्नुपरेको थियो तर यो पटक हामीले केन्द्रबाट कुनै रकम खर्च गर्न सकेनौं,’ उनले भने ।

बिना आर्थिक व्यवस्थापन जनताको उपस्थिति अलि न्युन हुने हो कि भन्ने चिन्ता अहिले पनि रहेको प्रचण्डको भनाइ थियो ।
‘अर्कोतिर सुरक्षा व्यवस्था एक दुई दिन अघिमात्रै पनि धनगढीमा कतिपय पार्टीका कार्यक्रममा व्यवधान आएका कुरा हामीले सोसियल मिडियाबाट हेरिरहेका थियौं,’ प्रचण्डले भने, ‘सुरक्षा व्यवस्था के होला भन्ने पनि हाम्रो मनमा प्रश्न थियो । तर यहाँका नेता कार्यकर्ताले ती सबै प्रश्नको बलियो उत्तर दिनुभयो ।’






